Saturday, February 26, 2011

जय भोलि !

पर्सिको हिजो र हिजोको पर्सिलाई भोलिभन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ ।

मानिस जतिजति दिनका पत्र पल्टाउँछ, उतिउति उसको भोलि सर्दैसर्दै पर जान्छ र आखिर भोलिलाई नभेट्दै मानिस मर्छ । त्यसैले भोलि साँच्ची एउटा ईश्वर हो, जसलाई मान्छे पछयाउँदै जान्छ, ऊचाहिँ परपर तर्कंदै जान्छ तर ऊ जतिसुकै पन्छिए पनि मानिस भोलिको भक्त छ । उसको मुखमा राम रामझैँ सधैँ झुन्डिरहेको हुन्छ- भोलि । त्यसैले आजको काम भोलिलाई थाती राख्नु हाम्रो संस्कृति हो । आफ्नो संस्कृतिलाई उल्लङ्घन गर्न कसले सक्छ ?

साँच्ची भनूँ भने पूर्वीय दर्शनको सबभन्दा ठूलो विशेषता हो- भोलिवाद । हाम्रो दर्शन आज (बाचुन्जेल) दु:ख गर, भोलि ‍(मरेपछि) मुक्ति पादँछौ भन्छ । तर दर्शनको भनाइ र मानिसको गराइमा कहाँनेर फरक पर्छ भने दर्शन भोलिका निम्ति आज गर भन्छ, मानिस डेढ अक्कल लगाइदिन्छ- भोलिको निम्ति गर्ने भएपछि आज किन गरिरहनु। भोलि नै गरे भैहाल्छ नि । अनि निस्कन्छ- आधुनिक भोलिवाद, जसका अनुयायी तपाईं-हामी सबै छौँ ।

भोलिवादको श्रीगणेश कुन बेला, कसको पालादेखि कसले सुरु गर्‍यो, त्यो किट्न सकिन्न, तर हेरिल्याउँदा नेपाली समाजमा भानुभक्तभन्दा अघिदेखि नै यसले खुट्टो घुमाएको बुझिन्छ । उनले एकपटक साह्रै दिक्दारिएर भनेका थिए- भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।कसो हामी भाग्यमानी रहेछौँ र हाम्रा आदिकविलाई झोली बोकेर वनतिर पस्नु परेनछ । उनको यो घुर्कीबाट हामी बुझ्न सक्छौँ- भोलिवाद सिद्धान्तका प्रणेता कुनै महार्षि या आचार्य थिएनन् । यो त निसापको ठूलो घरमा बसेर बेहिसाप गर्न खोज्ने उहिलेका जरसाहेब, काजीसाहेब, हजुरियासाहेब यस्तै कुनै फर्सीटाउकेसाहेब-साहेबनीहरु हुँदाहुन्; हुन सक्छ, सरस्वतीको तानाबाना बोकेर दक्षिणा फर्काउँदै दुनियाँ छकाउने गुरुजी, पण्डितजी, वैध्यजी इत्यादि जीहरुमध्ये कुनै थिए कि ?

हाम्रो जीबा भन्नुहुन्थ्यो- उहिल्यै राजर्षि महाराजको पालामा कुन्नि कता हो आगो लाग्यो रे । लाग्नासाथ घरभेटीले थरीलाई पुकारेछ । थरी ससुरालीमा श्राद्ध खान निस्किसकेकोले थरिनीले भनिछन्- भोलि उहाँ आउनेबित्तिकै म भनिदिउँला । भोलिपल्ट बिहान एक चिलिम तमाखु पनि राम्रो ननिखारीकन थरीजी पुलिसचैकीमा पुगेछन् । तर चैकीका हवलदार छुट्टी लिएर हिँडिसकेछन् । घरतिर सिपाहीले सोही बेहोरा बताई भोलि आउने आज्ञा दियो । भोलिपल्ट चैकीले खबर दियो र त्यसको भोलिपल्ट ठानामा खबर पुग्यो । ठानाले गोस्वारालाई, गोस्वाराले हजुरियालाई खबर गर्दागर्दै श्री ३ महाराजकहाँ तीन महिना तीन दिनपछि तात्तातो बिन्ती चढ्यो कि फलाना ठाउँमा आगो लाग्यो । तेह्रओटी नानीसँग जिस्किरहेका श्री ३ ज्यूले लौ भोलि सम्झाउनूभन्ने हुकुम दिए । भोलिपल्ट मुखारीको मौका पारी हजुरियाले डराईडराई बिन्ति बिसायो- सरकार फलाना ठाउँमा आगोले सिद्धयाएछ । काखीमा अत्तर छिट्न लगाउँदै श्री ३ बाट तात्तातो हुकुम बक्स्यो- लौ भोलि नै निभाउन लगाइदिनू ।

हिजोआजजस्तो टेलिफोनको व्यवस्था त्यतिखेर पनि भएको भए त्यस्तो हुँदैनथ्यो कि भन्नुहोला, तर मानिसलाई भोलिवादले छोएपछि टेलिफोनका बाबुको पनि केही लाग्दो रहेनछ । अस्ति मात्रको एउटा कुरा सुन्नोस्, मेरी एउटी नातेदार महिलाज्यूलाई प्रजा बढाउने व्याथाले अँठयाएछ । तपाईंलाई थाहा होला नि, अघिअघिका जस्ता हिँड्दाहिँड्दै ब्याउने दह्रा आइमाई कहाँ छन् र अचेल ! पाउने दुई महिनाअघिदेखि भुँडी छाम्दै डाँको छोड्दै कन्न थाल्छन् ! त्यसमाथि पनि यनि त थिइन् पहिला बेते । त्यसैले, अस्पताल नपुर्‍याई त कुरै थिएन । हत्त न पत्त छिमेकीको टेलिफोनमा गएर हलो हलो गरेको त कोहीबाट रिसिभरको तार मात्र तन्द्रङतुन्द्रुङ हल्लियो, कतैबाट कोही बोलेन ! फोनधनीले भने- लाइन बिग्रेको तीन दिन भयो, भोलि भन्दाभन्दै बनिसकेको छैन, कृपया भोलि एक पटक पाल्नुहोस् न ।लौ लौ भन्दै कुदेँ अस्पतालतिर ।

अस्पतालमा एउटी युवती नर्सले सबै बोलीबिस्तार सुनिन् र मधुर मुस्कानसाथ भनिन्- आज सिट पनि खाली छैन, सुपरिटेन्डेन्टसाहेब साहेब बाहिर जानुभा, कृपया भोलि पाल्नुहोस् न, अम्बुलेन्स कारको ब्रेक पनि भोलि बनिसक्छ ।हुन्न भनेर पो के गर्नु र ? भला भोलिको तारिख दिए पनि छिमेकीको टेलिफोन मात्रै बनेको भए पनि हलो हलोभनेर कनिरहेकी महिलाज्यूलाई कृपया भोलिसम्म पर्खनोस् है भन्दो हुँ तर त्यो पनि थिएन ! लुत्रे कान लगाएर दुई-तीन घण्टापछि उनकहाँ पुगेँ, तै बिचारीले अटोमेटिक मेथडबाटै काम सिद्धयाइछन् र मात्र, नत्र... ।

अब तपाईं नै भन्नोस्, भोलिवाद हटाउन टेलिफोनका बाबुको तागत चल्दो रहेछ त ! काम छिटो होस् भनेर दिनप्रतिदिन वैज्ञानिक चमत्कारहरु बढ्दै छन् । न्युयोर्कमा बोलेको कुरा न्युरोडमा सुनिने भयो, पेरिसमा हात चलाए काठमाडौँमा टेलिप्रिन्ट हुने भयो, तर भोलिवादमा कुनै प्रवाभ परेको देखिदैँन । राजर्षि महाराजका पालादेखि झन्डै आजसम्म मैले हाम्रो सिंहदरबारलाई भोलिदरबारभन्ने नाम राखेको छु । किनभने त्यहाँका एक-एक तला, एक-एक कोठा, एक-एक कुना, एक-एक टेबुल, तपाईं जहाँ जस्तो काम लिएर पुग्नुहोस्, भोलिको निम्तो नपाईं छाड्नुहुन्न । जागिर माग्नेदेखि लिएर तारिख माग्नेसम्म सबै भोलि ! सिंहदरबार होस् कि स्यालदरबार होस् भोलिवादलाई शिरोधार्य नगर्ने अड्डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाउनुजस्तै गाह्रो भइसक्यो अब ।

सरकारी क्षेत्रको मात्रै हो र, असरकारी क्षेत्रको पनि गति उहि हो । भोलि दिउँला भनी पैँचो लगेको पैसाले ५०० भोलि बिताइदिन्छ । पसलेहरु आज नगद भोलि उधारो भनिरहून्, उधारो नदिई उनीहरुले सुखै पाउँदैनन् । ग्राहकलाई उधारो तिर्नेचाहिँ भोलि आउँदैआउँदैन । कुनै मालिकले नोकरलाई ५०।रुपियाँ तलबका निम्ति ५० भोलि कुदाउँछन् । कुनै हितैषीले तीन मिनेटको कुरालाई तीन बर्षसम्म भोलिभोलि भनी गन्हाउने चोक कुराउँछन् । ऋण लिन जाँदा साहू भन्छ- भोलि, लेख लिन जादाँ लेखक भन्छ- भोलि, तारिख लिन जादाँ बाहिदार भन्छ- भोलि, तलब लिन जादाँ तहबिलदार भन्छ- भोलि। लुगा सिइसकियो ? भन्दा सूचीकार भन्छ- भोलि, चोक बढारिदे भन्दा कूचीकार भन्छ- भोलि । हुँदाहुँदा लोग्नेस्वास्नीमा पनि भोलिवादी भएकाले एकअर्कालाई पर्खाउने बानी बसिसकेको छ अचेल । लोग्नेले टोपी धोइदेऊ न भन्यो भने स्वास्नी भोलि धोइदिउँला भन्दाभन्दै सात दिन बिताइदिन्छे । स्वास्नीले नुन खाँचै छ भनी भने भोलि ल्याइदिउँला भन्दाभन्दै लोग्नेले पर्खाइदिन्छ छ-सात दिन ।

वातावरणै सबै भोलिवादी भएपछि मान्छेको मनोवृत्ति ससाना कुरामा पनि भोलिवाद नभई छाड्दो रहेनछ । इमानजमान नछाडीकन भनिदिऊँ भने भोलिभोलि भनेर मानिसले अरुलाई मात्र होइन, आफूलाई पनि झुलाइरहेको हुन्छ । अर्को शब्दमा भोलिको घोचो लिएर मान्छेले समाजलाई मात्र होइन, आफूलाई समेत निष्क्रियतातिर घचेटिरहेको हुन्छ । पढ्नु थियो- भोलि पढुँला, जानु थियो- भोलि जाउँला, गर्नु थियो- भोलि गरुँला भन्दाभन्दै कहिलेकाहीँ राति दिसा लाग्यो भने पनि निस्कनाको गाह्राले भोलि गरौँला भनी सुतिदिन्छन् कैयौँ ठिटाठिटीहरू । भोलिवादको अपवाद के छ भने खानलाई चाहिँ मान्छे सकेसम्म भोलिको भाका राख्तैन । भोलि दु:ख परे रात रहे अग्राख पलाउँछभन्दै भएभरको आजै बुत्याउन परे पनि ऊ तम्सन्छ । उदाहरणको निम्ति एउटा छोटो कुरा सुनाइहालूँ ।

एक पटक काठमाडौँको ठूलो होटेलमा बफे डिनर थियो । त्यहाँ कहिल्यै कतै नहिड्ने एक जना जरसाहेब पनि आएका रहेछन् । उनले खाएपिएको देख्ता म छक्कै परेँ, झन्डै आधा दर्जन पाहुनालाई पुग्ने भाग उनी एकै जनाले बुत्याइदिए । आखिरी पटक खसखस थाम्न नसकेर मैले सोधेँ- होइन, जरसाहेबलाई आराम नहोला नि ।उनले सजिलैसित भने- आराम नभए भोलि औषधि खाउँला ।उनको यस भनाइबाट यही निष्कर्ष निस्कन्छ- मान्छे सबै कुरामा भोलिवादको अनुसरण गरे पनि खान भने भोलिलाई पर्खंदैन, यो उसको ठूलो गुन हो ।

यसबाहेक अरु सबै क्रियाकलापहरु हाम्रा भोलिवादी छन् । भोलिवाद हाम्रो संस्कृति हो, दर्शन हो, राजनीति हो, प्रशासन हो, सामाजिक व्यवहार हो । तैपनि मेरो थोत्रो मगज यही शङ्कामा सधैँ जेलिइरहन्छ । हरेक कामकुरोमा भोलि भन्दाभन्दै भानुभक्तले भनेझैँ पर्सि हामी सबैले झोली बोकेर बम् भोलानाथकी जयभन्दै डाँडैडाँडा कुद्न त परोइन ? के बेर ! आज गरे हुने कामलाई भोलि पर्खेपछि त्यही हिसाबले यसपालिका सारा काम आघौँलाई पन्छन के बेर ? यस दशकका काम अर्को दशकलाई थन्कन के बेर ? अनी बीसौँ शताब्दीका सम्पूर्ण जिम्मेदारी र कर्तव्यहरु एकाइसौँ शताब्दीका लागि डिपोजिट रहन के बेर ? यसो हुँदाहुँदै कता पृथ्वी भोलि घुमौँला भनेर आराम नगरिदेओस्, हावा भोलि डुलौँला भनेर विश्राम नगरिदेओस्, जय भोलि !

7 comments:

  1. First of all I would like to thank Yagya Ji for posting essays by Bhairav Aryal. The essay is very nice. One can enjoy a lot while reading this essay, not only this but every essay by Bhairav Aryal is a great source of comedy carrying a good lesson in it.

    ReplyDelete
  2. धन्यवाद । And Yes as you told bhairab aryal's essays are the best source for comedy and it carries a good lesson too (i.e. only if you can figure it out). Hope you enjoyed reading these essays... Please consider sharing these with your friends ... (let them laugh and gain same knowledge too)

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. I read this in class 9 under Nepali Literature subject. I was so impressed with this write back then, that today, I'm here reading this piece again after hours of search on the internet.

    Paradoxically, I'd been 'thinking' of searching for this write since years now. Yup, procrastication, guilty as charged, Bhairav Sir - Jaya Bholi. :)

    It is an absolute masterclass. I don't think it's justifiable by comparing Chaplin to Aryal, but I think at some point you could web some analogy and similarities with the works done by the two.
    Both present their work with crude actuality, mind you very important one at that, hidden under apparent yet well-disguised hilarity for the lesser minds.

    ReplyDelete
  5. This essay always makes me astonised...Bhairav Aryal is such is legendry writer

    ReplyDelete
  6. Thank you for posting the essays. I stumbled to this site wile searching for 'mahapurushko sangat' which is my all time favourite essay. Is there any chance we could read that as well ?? Thanks so much ����

    ReplyDelete
  7. What should be done to remove भोलिवाद. As a judge

    ReplyDelete

Please Leave a comment to promote this site as well as Nepali Literature