Tuesday, March 22, 2011

चुरोट : केही झिलिमिली संस्मरण

एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?
 
धत्, बहुला कहाँको !! मैले आफैँलाई हप्काएँ, तर हप्काउँदाहप्काउँदै मानौँ नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठयो भने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठेँ, भननन्न एक पटक कोठामा भौँतारिएँ । झुन्डिएजति कोट, पैन्ट, कमिज, बुससर्ट सबका खल्तीखल्ती छामेँ, एउटा टफी कताबाट अड्केको रहेछ क्वाप्प मुखमा हालेर मर्मरी चपाएँ । तैपनि तुलबुलीको रन्को छुटेन । अनि दराज, तखता, खोपा, मेच, बाकस, झ्याल, ढोका सबका अन्तरकुन्तरतिर हात घुसारेँ अस्ति नै हरायो भनेको एउटा काँगियो पाइयो, ककसले खसालेर नभेट्टाएका दुई-तीनओटा दुईपैसे, चारपैसे र पाँचपैसे ढयाक भेटिए । टेबुल र खाट सारेर मुन्तिरका घुरान केलाएँ- एउटा भाँच्चिएको होल्डर, दुई-चारओटा गोरखापत्र, समीक्षा र नयाँ समाजको पत्र, साँचो हराएको एउटा ताल्चा, दुइटा बेजोडा मोजा, एउटा कालो रिबन यस्तैयस्तै अर्थ न बर्थका सत्र थोक फेला परे, तर खोजेको जे हो सोचाहिँ हात लागेन । हैरान भएर एक गिलास पानी तन्न पिइदिएँ र तन्द्रङ्ग पल्टिएँ त्यही भताभुङ्ग ओछयानमाथि । प्रश्न फेरि दोहोरियो- हँ, अहिले मलाई के चाहिएको त ? सुर्केस खोलेँ भने गैँडामार नोट कसो ननिस्केला, जे भए पनि महिनाको पहिलै साताको जागिरदार पो त ! बैँसदार मायालुकै कुरा गरुँ भने कमसेकम आफ्नी पर्मानेन्ट त तुरुन्तै एभाइलेबल । यी दुई थोक पाएर पनि यो तुलबुली किन, यो छटपटी किन ? किन भनूँ ? दानापानीको, सेक्सपानीको र अहंपानीको प्यासभन्दा बेग्लै (?) त्यस बेला मलाई सताएको थियो अर्कै प्यासले, माने- एक सर्को चुरोटको प्यासले । त्यसकारण ओठ न नोट, म धुइँधुइँती खोज्दै थिएँ चुरोटको एउटा ठुटै भए पनि कतै अलमलिएको छ कि भनेर ।

प्रत्येक वर्षझैँ- त्यो वर्ष पनि वैशाख १ गतेदेखि चुरोट छाड्ने माघ १ गतेदेखिकै संकल्प थियो । चुरोट खान छाड्नु आवश्यक मात्र होइन, मेरा निम्ति अनिवार्य पनि थियो । यो अनिवार्यता मैले नबुझेको होइन, बुझ्दाबुझ्दाबुझ्दा कति बुझिसकेको थिएँ भने प्रत्यक चुरोट सल्काउँदा यही नै अन्तिम हो भनी आफ्नो तालिमी मनले संकल्प पढिसक्थ्यो । तर तलतलै न हो, मेरो संकल्प सारालाई तलतलै पुर्‍याएर आफू तेलझैँ मास्तिर तहरिहाल्थ्यो । अनि तैतै आज एक दिनलाई भैगो, भोलिदेखि खाए के ?’ म दृढतासाथ संकल्प दोहोर्‍याउँथेँ । यसै गरी आज एक दिनबाट यो एक महिना, यो एक महिनाबाट यो बाँकी वर्ष हुँदाहुँदै चुरोट छोड्नलाई नयाँ वर्षको प्रारम्भ पर्खने लुत्रे र झुत्रे तालले कहिल्यै छाडेन । संकल्पशक्तिको यो हीनता जिन्दगीकै क्षीणता हो भनी म नबुझ्ने त होइन, तर बुझ्दैमा त्यो दह्रो भइहाल्ने पनि त होइन । चुरोट र क्यानसरका सम्बन्धमा कति चर्चा सुनिए, पर्चा पढिए, तैपनि चुरोट छोड्न सकिँदैन । अजित भएर २०१९ साल चैत मसान्तको दिन बेलुका मैले आफ्नो लाइटर फोरफार पारी फ्याँकिदिएँ, आस्ट्रे किचकाच पारी मिल्काइदिएँ, बाँकी बचेका दुई-चार खिलीसहित बट्टा च्यातचुत पारी आफल्दिएँ । , लाइटर त नफालौँभनी बराबर सलाई नपाएर भोगेका कतिपय संकटको सम्झना उनी दिँदै थिइन्, तर मैले भीष्मको आवजमा सगर्व उडाइदिएँ- अब पनि मैले चुरोट खाला भन्ने ठानेको कि ?”

१ गतेदेखि नखाएको ४ गते बेलुका यो दसा ! मलाई आफ्नो कमजोरीदेखि रिस, घृणा, ग्लानि सबथोक उठे, तर सबैभन्दा अग्लो भएर उठयो फेरी उही तलतल । हो, म साँच्चै तलतलाएँ, तर उपाय केही थिएन, गाँउको घर भएकोले पसल नजिक थिएन, आधा रातमा आधा कोस पर कसलाई उठाउन जाने ? बरु काकाकहाँ माग्न पठाऊँ- एउटा मसिनो आशा उदायो । तर यति जाबो कुरामा पनि आफ्नो दृढ प्रतिज्ञा अहिल्यै उनको अगाडि कसरी भंग गर्ने ? मेरो पौरुष अनकनायो ।

अम्बलले न पौरुष भन्छ, न प्रेस्टिज ! तत्कालै एउटा घटनाको सम्झना आयो । एकताका पोखराको एउटा गाउँले स्कूलमा म शिक्षक थिएँ । एक दिन यसै गरी चुरोट खान पाइएन । दिनभर पुग्ला भनियो, बेलुका त ठन्डाराम ! भोलिपल्ट तलतलले सबेरै तल ओरालिहाल्यो । आँगनमा आफू बसेको घरको हली हल्लँदै रहेछ । आफ्नो मास्टरी प्रेस्टिजलाई दाह्राले सकेसम्म थिचेर त्यही ग्वाङ्ग्रो खालको हलीसित मैले दीन पुकार गरेँ- रामेदाइ, तिमीसित एउटा चुरोट छैन ?” रामेले असजिलो मानेर भन्यो- चुरोट बनाउँदै छु, मास्टरसाहेब !नभन्दै ऊ बेलौती (अम्बा) का सुकेका पात टिपेर माड्दै रहेछ । म केटाकेटीहरुलाई पसल पठाउने धुनमा थिएँ, रामेले भुसा ल्याएर टक्रयायो । बूढी औँलाजत्रो कलात्मक चिलिममा अम्बाको पात माडेको धूलो हालेर निकालेको धूवाँ- न तमाखु, न कक्कड साँच्चै भुसाहा नै थियो त्यो ! तानूँ त ?” मैले लजाउँदै सोधेँ । यति सानो चिलिम उचाल्न सक्नुहुन्न र तान्नै पर्‍यो, तान्नलाई डोरी पनि चाहिन्छ कि ?” रामे हल्ल हाँस्यो, मैले सुइँसुइँ भुसाहा तानेँ । झ्यालबाट केटाकेटीले गिज्याए- जात फाल्नु गहताझोलमा !तर के लाग्छ, क्याकक्याक गरेर पनि तलतलले मूतको न्यानो तापिछाड्यो । त्यसरी त लाज पचाइयो भने उनलाई उठाएर काकाकहाँ चुरोट माग्न पठाउन के गाह्रो ! तर काका पनि त चुरोटपीडित रहेछन् भने ? फेरि अर्को सम्झना आयो ।

एक दिन केटाकेटीमै काका (बलराम अर्याल) र म पढेर घर फर्कंदै थियौँ । तलबी हुँदा त तीन दिन भरी भए तेह्र दिन पन्चट रहने आफ्नो खल्तीको कुलाङ्गार बानी, त्यसबेला बिलकुल ढाक्रे विद्यार्थी । एकातिर बाबुबाजेको अघिल्तिर चुरोट नखाने हामी आदर्श छोरा, अर्कातिर एकान्तमा ठुटा बेरेर भए पनि मुख नधुवाँई नहुने हामी अम्बली मोरा ! अनि पैसा पनि सधैँ कहाँबाट पुगोस्, दुवै जना हरिकंगाल । टंगाल हुँदै कमलपोखरीबाट गौशालातिरको सडकमा लुखुरलुखुर हिँड्दै थियौँ । हुन त भोकले पनि कम सताएको थिएन, तर भोकभन्दा मापाको थियो उही तलतल ! रातो पुलनिर पुगेपछि तिनताकाका पुड्कापुड्का हाम्रा काकाले मायालाग्दो गरी प्वाक्क भन्नुभयो- बाटामा राम्रोसित हेर्दै हिँड् है, त्यतिका पशुपतिभक्तहरु हिड्दा यो सडकमा एउटा दुईपैसे ढ्याक कसो नपाइएला ! यो ठट्टा भइदिएको भए बरु त्यति हाँसो उठ्तैनृयो तर कुरो थियो मर्मान्तकै ! अहिले पनि त्यो बाटो हिड्दा बुक वन र बिगिनर्स ट्रान्स्लेसनका किताप च्यापेर बाटामा ढ्याक पाइन्छ कि भन्दै हिँडेका पैसाविहीन काका-भतिजाका तलतलग्रस्त तुलबुले मुद्रा झलझली सम्झन्छु ।

चुरोट नपाउँदाका, सलाई नजुट्दाका, बाआमाले थाहा पाउलान् भन्ने डरले लुक्ता-लुकाउँदाका चाखलाग्दा काण्ड कति छन् कति- घरतिर, छात्रावासतिर, स्कूलकलेजतिर, अड्डाअफिसतिर अनि सबैतिर । जतिसुकै प्रेस्टिज र नैतिकता राख्नुपर्ने मान्छे छ भने पनि चुरोटमा उसको केही लाग्दैन । कहिलेकाहीँ चिन्दै नचिनेका मान्छेसित पनि एकोटा अप्ठ्यारो जनाउँदै चुरोट मागिएको छ, चुरोट नभएको बेलामा चिनेको मान्छे भेट भयो भने त के खोज्छस् काना आखाँ भइहाल्छ । माग्नै किन पर्‍यो र ! आफ्नो रित्तो खल्ती छामछुम पार्‍यो, चुरोट खाने मित्र रहेछ भने यसले चुरोट खोज्यो भनी बुझिहाल्छ । यो त मामुली नै भयो, सुटुक्क भनिदिऊँ भने कहिलेकाहीँ मैले बाबुको खल्तीबाट चुरोट चोरेको पनि छु, कहिलेकाहीँ मेरो चुरोट चोरिएको पनि छ ।

यस्तै कुराहरु सोचेर आत्मग्लानि मेट्तै मैले उनलाई उठाएँ र भनेँ- म त चुरोट छोड्न नसक्ने भएँ बा ! के गर्ने ?” आफूले गरेको भविष्यवाणी सत्य निस्कदाँ उनी गर्वले गजक्क फुलेर नाक नेप्ट्याउन थालिन्- मैले सक्नुहुन्न भनेकै थिएँ, अब यस बेला के गर्ने ? तमाखु खाने ?” प्रस्ताव त गजबै हो, तर मध्यरातमा ट्वार्रट्वार्र हुक्का बजेको सुन्दा ख्याक आयो भनेर भाइबहिनीहरु कतै नझस्कून्, त्यो त छोडदिऔँ, बाले सुन्नुभयो भने, ‘चुरोटसुरोट खाँदैन भनेको छोरो त आधा रातमा हुक्का पो टुर्टुराउँदो रहेछ ए !त्यसो भए पानीसानी मिल्काएर स्वाइँस्वाइँ तान्ने त ! कुरो योचाहिँ लम्बरी ! अगरनो तलै भएकोले त्यो अकबरी तलतल मार्न तलै ओर्लिएर तमाखु हालियो । पानी रित्तिएको हुक्कामा नाली नहाली स्वाइँस्वाइँ-स्वाइँस्वाइँ एकनास शोषले झैँ तानेर मैले तमाखु सिद्धयाउनै आँटेको थिएँ, आमाले आफ्नै कोठाबाट बोलाइदिनुभयो- बाबु !तलैबाट आवाज दिऊँ, यस बेला तल किन ? ‘हजुरभन्नको लागि कोठामा पुगूँ, त्यति छिटो बिरालाचालले कसरी भर्‍याङ उक्लने ? आफूलाई फेरि रिङटा लागेर छुट्टी ! तर छोराबुहारी कसैबाट आवाज नआएकोले उहाँले फेरि दोहोर्‍याउनुभएन र मात्रै, नत्र प्रतिज्ञा तोडेको अपराधको फल तुरुन्तै फलेजस्तो हुन्थ्यो आफूलाई ।

चुरोट त खाँदैखान्न भन्दाभन्दै तमाखु र बिँडी दुई थोक नया अम्मल समातिए । घरमा तमाखु, बाहिर बिँडी, कति सजिलो ! तैपनि चुरोट नै चाहिँ नखाएकोले जे भए पनि गर्वै थियो । तर एक साँझ सिनेमाको माध्यान्तरमा रोचकले झसांग पार्दै भने- ए चुरोट छाडेको होइन के ?” नभन्दै म त मजासित गोल्डफ्लेक उडाउँदै पो रहेछु । रमेश विकलले कुन बेला चुरोट दिएछन्, आफूले सुइँक्याइएछ, कस्तो मजा बेहोसी !

आफू चुरोट नखाने मान्छे, त्यसै पनि हामीले खाएको मन पराउँदैनन्, झन् म त छाड्नै पर्ने र छोडिसकेको मान्छे, त्यसैले कति दिन अरुको अगाडि मैले चुरोट, बिँडी केही पनि खाँदै खाइनँ । एक दिन राति म एक जना साथीकहाँ थिएँ, मलाई आफ्नो कोठामा छोडेर उनी अर्कै घरतिर गइसकेपछि मैले लुसुक्क चुरोट सल्काउन खोजेको, सलाई पाइनँ । ताल्चा नमारेका ठाउँजति सबैतिर खानतलासी गर्दा पनि एक छेस्को सलाई पाइएन । आखिर कताकताबाट खाटमुनि एउटा थोत्रो फेला पार्न पुगेँ म । तार तानतुन पारी टुपिन जोडेको मात्र के थिएँ- बिजुली झ्याप्पै । अब भएन के ? चन्द्रावतीले भात खान लागेको जस्तो पो भयो आफूलाई । चुरोट खाने चाँजो मिल्दै मिलेन । तिनताका मेरो डेरा थियो बांगेमोहडानिर, बाङ्गेमोहडानिर डेरा भए पनि म त मान्छे सोझै थिएँ । भोलिपल्ट बेलुकी नौ-दस बजेतिर अफिसको काम र होटेलको माम सकी कोठामा पस्ता त आस्ट्रे, लाइटरसहित एक बट्टा क्याप्टेन सिरानमा सजिइराखेको ! छक्कै परेर सूचना पढेँ- हिजो सलाई नपाएर जिल्लिएको बुझिएकोले सबथोक हाजिर छ, भोलि सबेरै एउटा हास्यव्याङ्ग्यलेख प्रेसमा हाजिर गराउनू !यो थियो रचनाका लहडकान्त सम्पादकज्यूको आदेश ।

हुन त महाकवि देवकोटाको चुरोटखुवाइ सम्झँदा हाम्रो चुरोटखुवाइ के हो र, प्रशस्त खाएको दिन सालाखाला दुई बट्टा खाइएला, त्यसमा पनि म त सिंहमारदेखि बिरालोमारसम्म जे पनि सरासर चल्ने क्लासविहीन भलादमी । तैपनि बढ्दै थियो- आफ्नो स्थिति हेरी । त्यसैले छोड्नै नसके पनि घटाउने प्रयत्नमा मैले बट्टाको सट्टा खुद्रा खरिदको नीति लिएँ । तर आफूले नलिँदैमा खान घट्छ भन्ने आशा पनि बेकार ! बरु आफूले चुरोट तानिरहेको बखत मान्नुपर्ने मान्छेले खोइ, एउटा यता पनिभनिदिए भने उल्टो आफैँले हिन्नेत्याइँ अनुभव गर्नुपर्छ । कवि सिद्धिचरणज्यू र रामराजज्यूसित कसोकसो प्राय: यस्तै परेको छ धेरै पटक । आफूलाई खान छ, अरुले माग्दा छैन, छैन, चुरोट पनि छैन, सलाई पनि छैन साथमा, कहिल्यै पनि । चुरोट छोड्नै सकेको पनि होइन कहिल्यै पनि- कस्तो दरिद्र चाल !

त्यसैले एक दिन मैले अरु विभिन्न प्रतिज्ञाहरुको साथ चुरोट खानु र मान्छे पोलेको धूवाँ खानु बराबरहो भनी किरिया खाएर कागत लेखेँ, सही गरेँ, हुक्काले अलमल्याउला भनी त्यो पनि फोरिदिएँ र सान्त भएर ती दिन गावैँमा काटेँ तर पनि केही लागेन । मैले तीन-चार वर्ष मासु छोडेँ, कति दिन नुन छोडेँ, कति लामालामा अवधिसम्म आफ्ना अति प्रिय वस्तु र प्रियतमहरु छाडेँ, तर एक साता पनि धूम्रपानलाई बिल्कुलै छाड्न सकिनँ । मेरो यो चुरोट समस्यामा सबै साथीहरुको सहानुभूति उब्जन्छ र अफिसमा एकछिन चुपो लागेको देख्ता हाम्रा केदारज्यू सोध्छन्- दाजुको ट्रान्जिस्टरलाई ब्याट्री चाहिएको जस्तो छ नि !हो, निकोटिनको क्यानसर हुन्छ, तर सेलाएका बखत स्नायविक तारहरु तताउन निकोटिनको निकै आवश्यकता पर्दो रहेछ क्यारे हामीलाई ।

साँच्ची नै शिथिलतामा सुर्तीले ग्लुकोजको काम दिई फुर्ती निकालिदिन्छ भने सुर्तीका क्षणको सबभन्दा ठूलो संगाती पनि सुर्तीको धूवाँसिवाय केही छैन । यी दुवै कुरा मैले आफ्नो एक महिनाजतिको दिल्लीप्रवासको बखत राम्रैसित अनुभव गरेको छु । त्यहाँ पनि मैले चुरोट छोडेँ, पपाँच मिनेटमा एउटाएउटा ट्याप लगाएको बात नलागोस् नत्र बाबुराम पौड्याल साक्षी छन्, मैले प्रत्येक दिन चुरोट छाडेँ, प्रत्येक रात चुरोट छाडेँ । त्यसै बेलादेखि मार्कट्‍विनको यो भनाइ साह्रै घतलाग्दो गरी म सम्झन्छु- चुरोट छोड्नु कुनै गाह्रो काम होइन, मैले एक सातामा कैयौँ पटक चुरोट छोडिसकेँ (उसैको वाक्य आएन) ।

, व्यापारीले बातैपिच्छे धरोधर्म भन्नु र मैले सासैपिच्छे चुरोट खान्नँ भन्नु एकै भयो । तैपनि जमुनाको किनारमा बसेर अर्को संकल्प गरेँ- अब गंगाजीको किनारमा उभिएर पानी छुँदै किरिया हालौँला । तर बनारसमा पुगेपछि भेट्नेबित्तिकै चारमिनारका बट्टा तेर्स्याउँदै शिव भट्टराईज्यूले भने- विश्वनाथ बाबाको नगरमा सके गाँजाकै चिलिमले स्वागत गर्नुपर्थ्यो !म पनि पशुपतिनाथ बाबाकै प्रजा हुँ नि ! चारमिनारको कुहिरीमण्डलमा हाम्रो ठट्टाध्याय गुरु वाक्क भएर घरबार राजीनामा गर्ने त्यागी, महात्यगीले त चुरोट छोड्नुको सट्टा गाँजासमेत उडाउन थाल्छन् भने मैले चुरोट किन छाड्ने ? स्वास्थ्यको निम्ति भनूँ भने अब चुरोट छोडेर स्वास्थ्य सुधार्छु भन्नु बुढी वेश्याले आर्यघाट नुहाएर जीवन पवित्र पार्छु भनेजस्तै त हो नि ! यस्ता कुरा सोच्तासोच्तै पनि काठमाडौँ पुगेर चुरोट छाड्ने धोको ठ्याम्मै बिसाएको त थिइनँ । तर शुभसाइतमा चाहिँ कहिल्यै परेको होइन ।

चुरोट छाड्ने अर्को प्रयास मैले पोहोर रावलपिण्डीमा पनि गरेँ । त्यस बेला साथी हुनुहुन्थ्यो- रुपरेखाका सम्पादक बालमुकुन्ददेव पाण्डे र मदरल्याण्डका सम्पादक मणीन्द्रज्यू । काठमाडौँ-त्रिशूली सडकजस्तै (ठीक उस्तै र उत्रै) एउटा पहाडी यात्रामा उहाँहरुले मलाई धेरै सम्झाउनुभयो, तर मैले पो चुरोट छाड्नुपर्छ भन्ने कुरो बिर्सेको कहाँ थिएँ र ! मोटरैबाट चुरोटको बट्टा मिल्काएर भनेँ- लौ त लौ, म चुरोट खान्नँ ।तर साँझ एउटा पार्टीमा भने उनीहरुको आँखा छलेर पनि चुरोट तानिछाडेँ ।

म कहिलेकाहीँ त्यसै पनि व्रत बसिदिन्छु । साथीहरु भन्छन्- खाना पनि छाड्न सक्छ कस्तो मान्छे यो ! फेरि जब चुरोट सल्काउन थाल्छु उनीहरु दोहोर्‍याउँछन्- जाबो चुरोट पनि छाड्न सक्तैन कस्तो मान्छे यो ! अब म यस्तै मान्छे ! के गर्ने ? चुरोट त म खान्नँ भन्दै छु, तर चुरोटले चोरेर भए पनि मलाई खाइहाल्छ । हो, सल्य भन्छु- मलाई चुरोटदेखि डर लाग्छ, घृणा लाग्छ तर म आत्मसमर्पित हुँदै आएको छु- यही छुसी चुरोटसँग । यो क्रम कतिसम्म चल्ने हो, म हजुरले कति पटक चुरोट छाड्ने हुँ त्यो त भन्न सक्तिनँ, तर फेरि नयाँ वर्ष लाग्दै छ, म चुरोट छोड्दै छु- योचाहिँ पक्का हो ।

7 comments:

  1. Really funny! laughed a lot while reading.."must read" to all those who are addicted to cigarette..Smokers will find that experiences shared by the the writer will match with their experience.....

    ReplyDelete
  2. Not only funny but practical also.
    This happens to most smokers including me. :P.

    ReplyDelete
  3. I really enjoyed it. N its a truth.

    ReplyDelete
  4. yo sabai nibanda ko lagi muri muri danyebad!!

    ReplyDelete
  5. Bhairab Aryal is only the single star from nepal. No one is above him.

    ReplyDelete
  6. I want to write a comment, but I am just speachless.

    ReplyDelete

Please Leave a comment to promote this site as well as Nepali Literature