Thursday, April 28, 2011

विकृति प्रतियोगिताको आयोजक समिति

नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपाली सुन्दरसुन्दरीहरु दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ भित्रैदेखि प्रफुल्ल भएका थिए । तर, सो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझैँ एकै पटक खङ्‌र्‍याङखुङ्‌रुङ भइहाले । स्वास्नीलाई नेपाल-सुन्दरी बनाउन पाए आफू पनि नेपाल-सुन्दर भएर हङकङदेखि हलिउडसम्म घुमौँला भन्ने कति श्रीमान्‌हरुको योजना त्यसै गरी भत्कियो, जसरी त्यति काम गरिदिन पाए बङ्गला बनाउन पाइन्थ्यो भनी कसिएका कर्मचारीको सपना एक्कासि खोसुवा पुर्जी पाउँदा भत्किन्छ ।

Friday, April 15, 2011

नेता नम्बर एक सय एक

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।