Monday, August 22, 2011

लाहुरेको यात्रासंस्मरण

एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल  पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि !

Thursday, April 28, 2011

विकृति प्रतियोगिताको आयोजक समिति

नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपाली सुन्दरसुन्दरीहरु दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ भित्रैदेखि प्रफुल्ल भएका थिए । तर, सो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझैँ एकै पटक खङ्‌र्‍याङखुङ्‌रुङ भइहाले । स्वास्नीलाई नेपाल-सुन्दरी बनाउन पाए आफू पनि नेपाल-सुन्दर भएर हङकङदेखि हलिउडसम्म घुमौँला भन्ने कति श्रीमान्‌हरुको योजना त्यसै गरी भत्कियो, जसरी त्यति काम गरिदिन पाए बङ्गला बनाउन पाइन्थ्यो भनी कसिएका कर्मचारीको सपना एक्कासि खोसुवा पुर्जी पाउँदा भत्किन्छ ।

Friday, April 15, 2011

नेता नम्बर एक सय एक

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।

Tuesday, March 22, 2011

चुरोट : केही झिलिमिली संस्मरण

एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?

Thursday, March 3, 2011

भान्सा भो हजुर ?

भान्सा भो हजुर ?”

आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरु पुलिसको आवाज सुनेका जुवाडेहरुझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । पिलिक्क आँखा उघार्दा मिलिक्क उही बूढो साहू महिना सुनाउन आएका बाजेझैँ बिपना सुनाउन भित्र पस्छ ।

Saturday, February 26, 2011

जय भोलि !

पर्सिको हिजो र हिजोको पर्सिलाई भोलिभन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ ।

Thursday, February 17, 2011

नाम फर्ने धुनमा

...धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीकभनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् कालू। सलसलाउँदी युवतीलाई छयाके पुतलीभन्दा कति जाग्लिन् ? अनि म नजागूँ कसरि ! अचेल कसैको नामको पुच्छर काटेर ठुटे गराएका छन्, कसैले भने भएको पुच्छरले नपुगी अर्को पुच्छर गाँसेर द्‍विपुछ्रे हुनुपरेको छ । अझ कोही नाममा भए-नभएको टुपीसमेत गाँसेर ठूलाबडाको झन्डा फहराउँछन् ।

Saturday, February 12, 2011

केही राष्ट्रिय रोग : एक अनुसन्धान

केही डाक्टरसाहेबहरू स्टेथोस्कोप फ्याँकेर झण्डा भिर्न कुद्नुभयो, कोहीचाहिँ डाक्टरी गर्नुमा भन्दा फ्याक्टरी खोल्नुमा फाइदा देख्न थाल्नुभयो । यस्तै कसैमा प्रशासनको आकर्षण थपियो, कसैमा प्रकाशनको धुन थपियो । डाक्टर लेख्ने लाइसेन्स पाएका तर डाक्टरी गर्ने सेन्सचाहिँ नपुगेका डाक्टरसाहेबहरू भूतपूर्व मन्त्रीहरू बढेझैँ जतिसुकै बढे पनि के लाग्यो र, बिरामीको सङ्ख्या बेकार स्नातकझैँ दिन दोब्बर रात चौबर बढेको छ, छ ।

Wednesday, February 9, 2011

मपाईं

तँ को आदरार्थी 'तपाईं' भएजस्तै '' को आदरार्थी 'मपाईं' हुन्छ  । त्यसैले सभ्य भाषामा 'तँ' को ठाउँ तपाईंले ओगटेपछि '' को ठाउँ 'मपाईं' ले नलिनु किन ? '' लाई संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि '' को स्थान प्रथमै छ । त्यसैले हामीले पनि बाह्रखरी पढ्दैदेखि '' लाई राम्रो '' भनी मान गर्दै आएका छौं । जब सँगैको 'तँ' जाबोले पदोन्नति पाई 'तपाईं' भयो भने '' लाई पदोन्नति दिई 'मपाईं' नगराउनु पच्चीसै आना पक्षपात हो, '' प्रतिको अन्याय हो । यसकारण अरुले 'तपाईं' भने पनि नभने पनि हामीले आफूलाई 'मपाईं' भन्नै पर्छ, यो युगको माग हो; 'मपाईं' को मन्तव्य यस्तै छ ।

Monday, February 7, 2011

‘उडाउनु’ सित एकछिन उड्दा

एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनै सम्बन्ध छ, न भूउपग्रह र दूधमा समानता । तर क्रियाचाहिँ दुइटैले एउटै गरे- उडाइदिए । भूउपग्रह उडाउन कैयौँको साधन र साधना लाग्यो, तर बिरालालाई दूध उडाउन न साधनको नाममा एउटा चम्चा चाहियो, न साधनाको नाममा केही चालचुल ।

Thursday, February 3, 2011

चरिचुच्चे ‘च’

हो, मान्छे बिछट्ट छुच्चा भए, चौपट्ट लुच्चा भए । यिनै छुच्चा र लुच्चाको मिचोमा परेर हामीजस्ता लाटासुधा मान्छे फुच्चामा गनियैाँ । अनि, गुच्चा खेल्दा जसरी चुपो लागेको सुधो गोटीलाई चारैतिरबाट ताकिन्छ, त्यसै गरी छुच्चा र लुच्चाका कुर्कुच्चाहरू सधैं हामीजस्ता फुच्चालाई घुच्चा ख्वाउन तम्सिरहेका हुन्छन् । हुदाँहुदाँ छुच्याइँ र लुच्याइँ नजान्नेहरुले अब बालुवाको लुच्चाइँ पकाएर खाए मात्रै हो, नत्र निर्वाह गर्न मुस्किलै छ ।

Monday, January 31, 2011

भैरव अर्याल - एउटा छोटो परिचय

भैरव अर्याल (Bhairav Aryal) (वि.स. १९९३-२०३३ / स.न्. १९३६-१९७६) नेपाली साहित्यको हास्य व्यङ्ग्य फाँटका महान् प्रतिभा हुन् । उनको जन्म वि.स. १९९३ असोज ५ गते ललितपुरको कोपुण्डोलमा भएको हो भने उनको निधन काठमाडौँको गोकर्णमा वि.स. २०३३ मा भएको हो । उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो । उनले काउकुती, जय भुँडी, गलबन्दी, इतिश्री, दश औतार आदि हास्य व्यङ्ग्य निबन्धका पुस्तकहरू लेखेका छन् ।