Thursday, February 3, 2011

चरिचुच्चे ‘च’

हो, मान्छे बिछट्ट छुच्चा भए, चौपट्ट लुच्चा भए । यिनै छुच्चा र लुच्चाको मिचोमा परेर हामीजस्ता लाटासुधा मान्छे फुच्चामा गनियैाँ । अनि, गुच्चा खेल्दा जसरी चुपो लागेको सुधो गोटीलाई चारैतिरबाट ताकिन्छ, त्यसै गरी छुच्चा र लुच्चाका कुर्कुच्चाहरू सधैं हामीजस्ता फुच्चालाई घुच्चा ख्वाउन तम्सिरहेका हुन्छन् । हुदाँहुदाँ छुच्याइँ र लुच्याइँ नजान्नेहरुले अब बालुवाको लुच्चाइँ पकाएर खाए मात्रै हो, नत्र निर्वाह गर्न मुस्किलै छ ।
      
छुच्चा र लुच्चाको आबादी किन बढ्यो त? सवाल सजिलो छैन । कोही लख काट्छन्- आणविक उन्नतिले दानविक प्रवृत्‍ति बढयो । कोही भन्छन्- आचार नभएकोले अनाचार बढयो । तर सोध्ने कसलाई? जो जान्दछन् उनै लुच्चा छन् । आजको ज्ञन नै लुच्चो छ, विज्ञन नै छुच्चो छ । 

त्यसैले मानिसका शिक्षादीक्षा, राजकाज, घरकाज, किनमेल, हेलमेल, काम-कीर्ति, माया-पिर्ती सारामा छुच्याइँ र लुच्याइँले रजाइँ जमाएको छ । सबैतिर साँठगाँठ मिलाउँदामिलाउँदै अचेल मानिस जति पढ्ढै र बढ्ढै जान्छ, उति छुच्चो र लुच्चो हुदैँ गएको देखिन्छ । बरु सच्चा कुरा निस्कन्छन् आफूजस्तै फुच्चाबाट । त्यसैले म भन्दै छु, छुच्चा र लुच्चाको सङ्ख्या बढ्नु चुच्चाको प्रभाव हो ।

हो, आज चुच्चाको युग हो । पहिलेपहिले सुगा, मैना र कोइलीजस्ता चराका चुच्चालाई मात्र चुच्चा भनिन्थ्यो र तिनैको महत्त्व थियो । तर अचेल प्रत्येक मानिस चुच्चाप्रिय छन् र उनीहरुको सभ्यता चुच्चादारी छ । युवकहरु टाईको टुप्पो चुच्चाएर लतार्छन् भने युवतीहरु केशको जुरोदेखि लिएर जुत्ताको एडीसम्म पनि चुच्च्याएर युवकहरुको चित्त ठुङ्न खोज्छन् । यो चुच्चादारी सभ्यतामा छोराले बाबुसित पनि छुच्याइँ गर्नुपर्छ, स्वास्नीले लोग्नेसित पनि लुच्याइँ गर्नुपर्छ । नत्र साथी-सँगातीका अगाडि उनीहरुको फेसन बुच्चो हुन्छ, रहनसहन किच्चो हुन्छ र चुच्चाचुच्चीको जमघटमा आफू खिच्चाझैँ अपहेलित हुनुपर्छ ।

त्यसकारण अचेल केटाकेटी बाह्रखरी पढ्ढा सबैभन्दा पहिले चिन्दछन्- चरिचुच्चे । उसको त्यति राम्रो चुच्चो देख्तादेख्तै गुरुचाहिँ मुखबुच्चे लाई राम्रो मभनी सिकाउन खोज्छन् अनि गुरु-चेलाको मत मिल्दैन । वास्तवमा भनूँ भने वेदको ॐ  जस्तै सम्मान्य अक्षर अचेलको चरिचुच्चे हो । किनभने रातदिन नखाई नहुने चिया, चुरोट, चुस्कीजस्ता अमृतमय अम्मलहरु चरिचुच्चे बाटै उठेका छन् । जब यिनको तलतलले मान्छे तुलबुलाउँछ, अनि ऊ बाबुको बगलीदखि लिएर स्वास्नीको थैलीसम्म छाम्न पुग्छ, यसबाट सफल हुन नसकेमा उसले अनेकौँ चाखलाग्दा जुक्तिबुद्धिको साधनामा लाग्नुपर्छ ।

एक पटक, हाम्रा साथीसाथीमा यही खलबल चलेको थियो- चिया, चप, चुस्की र चलचित्रको गर्जो टार्ने कसरी? नेपालका युवकहरुको आर्थिक स्थिति यही हो । इलम उद्योगको सोच छैन, भोज खानै पर्ने, पोज राख्नै पर्ने । खेती गरुँ कोदालीको बोझ, व्यापार गरुँ किनबेचको झोँज, बरु खोज गरेर भए पनि जागिरै खान पाए न हो अलिकति मोज हुने । त्यसमा पनि स्याहास्रेस्ताको बोज र दिनहुँ हाजिर नभई नहुने झोँज आइपर्छ, अब के गर्ने? त्यसै दिन एउटाले कुरा उठायो- बरु एउटा पार्टी खोलूँ, चन्दा उठाउन थालूँ । अर्को साथीले भनूँ, चन्दा उठाउन थालूँ । अर्को साथीले भन्यो- त्यसो किन नि? एउटा पत्रिका चलाउने भनौँ, वार्षिक ग्राहक बनाउँदै जाऊँ, वर्षदिनभित्रमा एउटा निकालिदिउँला अरु त च्वाम्म भइहाल्छ । नभए स्कूल खोल्ने या अस्पताल बनाउने बिङ्गा लगाएर चन्दा उठाए पनि भयो । त्यसै माग्न जाऊँ भने सुटेडबुटेड लबिदरेको इन्सल्ट भइहाल्छ । चन्दा भनेपछि त न माग्नेले लजाउनुपर्छ, न दाताले रिसाउनु हुन्छ । चन्दा- या बीसौँ शताब्दीका चतुरहरुले आविष्कार गरेको प्रजातान्त्रिक ठगपद्धति, जो चरिचुच्चे बाटै उठेको हो!

त्यस दिनदेखि कोही ठगीकन जेल जान नपर्ने यस्तै प्रजातान्त्रिक उपाय अपनाउन लागे । कोही, यसका कुरा उता, उसका कुरा यता गर्दै चुक्लीको पुरुषार्थ गर्न लागे । कोही ठूलाबडाको पुच्छर समाती तरकारीको झोलादेखि लिएर सरकारी ब्यागसम्म बोकी चाकरी गर्न लागे । कोही चिप्लेकीराजस्ता नरम भएर चिल्लो घसी चापलुसी गर्ना थाले । म थिएँ तीन न तेह्रको तिलकने, चप्पलको चपेटाले चाउरिएको कुनै प्रमीझैँ चौबाटोमा लर्खराएको लर्खरायै भएँ । चाकरी, चुक्ली र चापलुसीको पुरुषार्थ गर्ने साथीहरुको नाक चुच्चिँदाचुच्चिँदा माछापुच्छ्रे हिमालको चुचुरोजस्तो भइसक्यो तर आफूलाई चार पैसाको चटामरी र चारवटा गेडा चना कसैले पत्याउने होइन । अब तपाईं नै भन्नोस्, चरिचुच्चे को महत्त्व कत्रो रहेछ? छकाउने र फकाउने, झुलाउने र फुलाउने, लखेट्ने र झपेट्ने, घचेट्ने र सँगेट्ने यी सबै यसै चुच्चाका देन न हुन्!

हुन त मान्छेको मुख पनि एउटा चुच्चै हो  । भन्न मात्रै हामी त्यसलाई चुच्चो नभनेर चोसोभन्छौँ  । चार-पाँच महिनाको बालकई काखमा लिएर आमाचाहिँ बड कतैभनी हप्काइदिन्छे, अनि बालक चोसो पसारेर रोइदिन्छ  । उसको चोसो देखेर सबै मुग्ध हुन्छन् र चोसो हेर्नैका लागि बालकलाई जिस्क्याइरहन्छन् । यसबाट मानिस कति चुच्च्याइँप्रिय हुँदो रहेछ भन्ने थाह हुन्छ । हुँदाहुँदै आखिर त्यही चोसोले पिर्छ । बालक दूध चोरेर खान्छ, पिटैँ भने चोसो पसारिदिन्छ, अनि माफ दिन करै लाग्यो । उसको खेलौना वा उसका घरको केही चीज कसैले उठायो भने हेर बाबु ! तिम्रो लग्योभनी बालकलाई जगाइन्छ र ऊ चोसो पसारेर आफ्नो माल कसैलाई लान दिँदैन । यसरी बालकदेखि नै लुच्च्याइँ र चुच्च्याइँको तालिम मान्छेले आफ्नो चोसोको माध्यमबाट पाउँदै आएको हुन्छ । त्यसैले अचेल कसैलाई फुर्क्याउनुपर्‍यो भने अलिकति गुलियो चटाएर चोसो मुसारिदियो, कसैलाई घुर्क्याउनु छ भने गह्नाउने मुख लाएर चोसो पसारिदियो, सिद्धिहाल्छ ।

मैले भनिहालेँ नि, मानिसको चुच्चै मुख हो । त्यसैले अचेल कोही मुजुरको झैँ चुच्चा सिँगारेर राम्राभनिन खोज्छन्, अनि सिनेमाका राम्राराम्रीले झैँ मानिसलाई बुच्च्याइदिन्छन् । कोहीचाहिँ सुगाको झैँ चुच्चो चलाएर विद्वान् भनिन खोज्छन्, अनि अचेलका नेता-नेतीले झैँ भाषणले फकाएर मान्छे छकाइदिन्छन् । कोही चमेराझैँ चुच्चो मिलाएर प्याराबन्न खोज्छन्, अनि ब्वाँसाले झैँ मानिसलाई फुलाएर सुल्याइदिन्छन्, अझ कोही बाजका झैँ चुच्चा तिखारेर बलिया बन्न खोज्छन्, अनि ठूलाठूला राष्ट्रका झैँ परस्पर चुच्चा जुधाएर लुरेलाम्रे देशहरुलाई चपाइदिन्छन् ।

त्यसकारण, सुखपूर्वक बाँच्न चाहने हो भने अब सबैले चकार-माहत्म्य पढेर चुच्चाको महत्त्व बुझ्नुपर्छ, छुच्चा हुनुपर्छ, लुच्चो हुनुपर्छ । नत्र हामीजस्ता लुर्कुच्चा फुच्चाले खिच्चाको बच्चाझैँ छुच्चा र लुच्चाका बुर्कुच्चाको घुच्चा खादैँ ङिच्च परी टुकुचाको उच्चा पर्खालबाट हामफालेर यमलोकतिर सुइँकुच्चा ठोके हुन्छ ।

1 comment:

Please Leave a comment to promote this site as well as Nepali Literature