Thursday, March 3, 2011

भान्सा भो हजुर ?

भान्सा भो हजुर ?”

आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरु पुलिसको आवाज सुनेका जुवाडेहरुझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । पिलिक्क आँखा उघार्दा मिलिक्क उही बूढो साहू महिना सुनाउन आएका बाजेझैँ बिपना सुनाउन भित्र पस्छ ।

झोकको झन्झावातमा मगज यस्तरी झन्झनाउँछ कि जुरुक्क उठेर साहूजीका चाउरीएका गालामा चडयामचडयाम हिर्काउँदै जबाफ दिऊँ- कौवाले समेत जलपान नगर्दै तेरा बाबुले भान्सा गर्छ लट्‌ठू !तर बोल्न नपाउँदै केटाकेटीनै उसलाई उल्याउन थाल्छन् । म आफ्नो झोक तकियामै बिसाएर सिरकले गुम्लुङ्ग मुख छोपी आफू नब्यूँझेको बहाना गर्छु । किनभने एकैछिनको ध्यानदृष्टिले मलाई यो तथ्य पत्ता लगाउन गाह्रो पर्दैन- साहू अहिले भान्सा भएको-नभएको सोध्न आएको किमार्थ होइन, ऊ त अघिल्लै महिना भान्सा गरेको एक मुरी चामलको उधारो उठाउने उद्देश्यले मलाई ओछयानैमा उठाउन आइपुगेको हो । त्यसैले देशको एउटै प्रश्नबाट नेताहरुले बेग्लाबेग्लै अर्थ झिकेझैँ साहूजीले एकाबिहानै सोध्न आएको भान्सा गर्नुभो भित्र धेरैधेरै अर्थ लुकेको मैले पाएँ । पहिलो त हो- उसले कति दिन मेरा भान्सा चलाइदिएको थियो । ऊजस्तो अन्नदाता साहूकहाँ मुखै नदेखाई अचेल म कसरी भान्सा गर्छु ? न हिजोअस्ति मेरो परिवारले भान्सै गरेको छैन कि ? म एउटा जागिरजीवी अधिकृत, पसलेको उधारै नखाई महिनाभर भान्सा गर्न-गराउन सक्छु र ? उसको सोधाइको अझ सबभन्दा चुरो अर्थ के होला भने आफूले उधारो भान्सा गरेबापत उसलाई तिर्नुपर्ने रुपियाँ यतिन्जेल नतिरेकोले त्यसको पनि मैले भान्सा गरिदिएँ कि ? उधारो खाने पनि कुनै निश्चित समय र स्थान हुन्छ र ? उधारो, रीन, घूस, कमिसन, नाफा, नजराना भन्ने कुरा कौवाको बच्चाले जलपान नगर्दै खाए पनि हुन्छ रे, लाटाकोसेराका बच्चाले न्यासध्यान नगर्दै सिद्‌ध्याए पनि हुन्छ रे । यसरी रहस्य उघार्दै जाँदा उसले एकाबिहानै भान्साको प्रश्न उठाएबापत उठेको झोक नशाले छाडेपछिको आत्मज्ञानझैँ आत्मग्लानिमा परिणत हुन्छ । म सिरकभित्र दुम्सीले झैँ जीउ खुम्च्याएर दम्पच पारी आफूलाई लुकाउन खोज्छु, तर हिजो बेलुका गरेको काँचोकचिलो भान्साले भुँडीभित्रैबाट ध्वालालल्ल गरी शौचालयको निम्ता दिन्छ ।

भान्साको कुरा गर्दागर्दै शौचालयको कुरा झिक्ता तपाईंलाई अलि बीभत्सताको गन्ध आउला, वास्तवमा यी दुईको सम्बन्ध टिप्पणी र आदेशको सम्बन्धजस्तै घनिष्ठ छ । भान्सा एउटा टिप्पणी हो भने शौच एउटा आदेश हो । दार्शनिक भाषामा भान्सा भोगभूमि हो भने शौचालय त्यागतीर्थ हो । साँच्चै भनूँ भने आजको जटिल त व्यस्त जीवनमा शौचालयजस्तो आनन्दी ठाउँ अर्को कुनै छैन, कारण यहाँ उधारो उठाउन आएको साहूले मात्र होइन, उधारो खान बाध्य गराउने केटाकेटीकी माउले पनि झिँजोल्न पाउन्न । कमसेकम एकान्त साधना र आत्मचिन्तनको एउटा शान्त आश्रम शौचालय नै हो । त्यसैले म आश्रमभित्र पसी आत्मलीन हुँदै चिन्तन गर्न थाल्छु- मानौँ मलाई भान्सा गर्नुको अर्थबोध हुन लाग्छ ।

भान्सा गर्नु भनेको खानु हो । खानु भनेको कुनै पदार्थलाई मुखद्‍वारबाट प्रवेश गराई आन्द्रेमार्गद्वारा भुँडीभण्डारसम्म पुर्‍याउनु हो । तर खानुसित बढी मोह भएर हो कि खानुको समस्याले बढी सताएर हो नेपालीहरुले यसको अर्थविस्तार यस्तरी गरेका छन् कि तन्काउनु र सुर्क्याउनुलाई पनि खानु नै भनिदिन्छन् । उदाहरणको लागि हामी चुरोट पनि खान्छौँ । चिया पनि खान्छौँ । पाए रम पनि खान्छौँ, नपाए गम पनि खान्छौँ । तर अरु खानुसित त्यति चासो हुँदैन, हाम्रो खास खानु भात खानु हो । त्यसैले साँझबिहान टुप्लुक्क कोही आइपुग्यो भने ढोगभेटपछिको दोस्रो प्रश्न हुन्छ- भात खानुभो ?’

भात खानु भनेको ज्यूनार गर्नु, भोजन गर्नु, भान्सा गर्नु, हसुर्नु, घिच्नु र धोकय्राउनु पनि हो । धनधान मानसानले ज्वाज्वल्यमान मानिसहरु ज्यूनार गर्छन्, हलो जोतेर खानुपर्ने परिश्रमीहरु सायद हसुर्छन्, धोक्रो बोकेर ज्याला कमाउनेहरु सायद धोक्य्राउँछन् र साह्रै हिन्नेती ठहरिएका वा रिस उठेका मान्छेहरु घिच्छन् । कमसेकम आफूलाई सन्तोष के छ भने हिजो बेलुका पानेरोटी धोक्य्राएको भए पनि, सुक्खा रोटी टोकेको भए पनि रिसाएको साहूले कमसेकम यसरी त सोधिदिएन- घिच्यो बाज्या ? धोक्य्रो साहेब ? हसुर्नुभो हजुर ?’

अर्थ उही भए पनि ज्यूनार गर्नु, भान्सा गर्नु, भात खानु र घिच्नुको ध्वनिमा ठूलो अन्तर छ । ज्यूनार भन्नेबित्तिकै चौरासी व्यञ्जनका दर्जनौँ-दर्जन रिकापीहरु वरिपरि सजाएर बडेमानको थालमा घिउ चुहिने दुई पन्यूँ मसिनाको मसलादार भुजा पस्किएर चम्चाले एकपछि अर्को रिकापी चहारेको दृश्य ध्वनित हुन्छ । भान्सा गर्नु भन्दा कमसेकम दालभात तरकारीको साथै ट्वाक्क एक थोक अचार, चार चौटा मासु या एक गिलास दुध र एक-दुईओटा फलफूलको बास्ना आउँछ । भोजन गर्नु भन्दा निम्तालु बाहुन वा जोगी वा ज्वाइँ, भानिजले निमन्त्रकको घरमा कुनै धार्मिक चाडपर्वमा दक्षोणासमेत लिई खीर, मालपुवा वा इक टपरी दहीभात बजाएको बुझिन्छ । भात खानु मात्र भन्दा सिलाबरको वा पित्ले थालमा पस्केर रातोरतो चपरी भात केही न केही एक थोक तरल तिहुनसित मुछेर गाँस हाल्नु भन्ने बुझिन्छ । अधिकांश भद्रभलादमीकहाँ भात खाँदा फलफूलको त कुरै छाडौँ दालतरकारीको पनि नियमित प्रबन्ध हुँदैन, केवल भात खाए पुग्छ । यसैले प्राय: दालतरकारी खाएनखाएतिर वास्तै नराखी हामी सोध्ने गर्छौँ- भात खायौ ?’ त्यही भात पनि उसिनाको पर्‍यो वा चामलको कायममुकायम मकै, कोदो, फापर या चनाले गराउनुपर्‍यो र जिभ्रामा अड्काईअड्काई निल्नुपर्‍यो भने त्यसलाई घिचेको भन्नमा कुनै आपत्ति छैन । कति जनालाई रिस उठाएर वा कतिदेखि रिसाएर गर्नुपर्ने हामीजस्ताको पेट भर्ने क्रियालाई भान्सा गर्नुभो ?’ भनी सोध्नुसट्टा घिच्नुभो ?’ भनी सोधे स्वाभाविकै ठहरिएला कि भन्ने मलाई लाग्छ ।

, शौचालयमा यति ज्ञान हासिल गरी जब म बाहिर निस्कन्छु, साहूजी गनगनाइरहेको सुनिन्छ- हजुरहरुले यस्तो गरिदिएपछि हामीले के खाने ए ?” भनिदिऊँ जस्तो लाग्छ- तिमीले नाफा खाने हामीले उधारो खाने’, तर त्यसो नभनी म उसलाई आश्वासन दिन्छु- तिम्रो पैसा हामी खाँदैनौँ साहूजी ! अहिले केही दिन कम्पनीको हालत खराब भएकोले तलब आएको छैन, आउनेबित्तिकै पुर्‍याउन पठाउँला !मेरो भद्र आश्वासनले साहूजी त आश्वस्त भएर जान्छ । तर भान्सा विभागकी अध्यक्षा श्रीमती देवीको लम्बे टिप्पणी आदेशार्थ प्रस्तुत हुन्छ- चामल, चिनी, चना, चम्सुर, रातो माटो, मट्टीतेल, हिङ, हलेदो, हिसाबको कापी, साबुन, साबदाना, स्टोभको वासर र सल्फागुनाइडिन । अफिसको मागफारम हुँदो हो त म त्यसलाई यस्तरी फाइलमा कोचिदिन्थेँ कि एक महिनापछि खोज्दा, खोज्नै फेरि एक महिना लागोस् ! तर माग पर्‍यो बूढीकै; सार्दाम पर्‍यो भुँडीकै । जहानको समस्या पनि जनताको समस्याजस्तो टारेर टर्ने हो र ? न आश्वासनले टर्छ, न भाषणले, न योजना बनाएर टङ्गारिन्छ, न अभियान चलाएर । मैले त तुरुन्तै आदेश मात्रै दिएर पुग्दैन, निकासा नै दिनुपर्छ नत्र एकछिनपछि भात पाक्यो ?’ भनी सोध्ने अधिकार पनि मेरो हुने छैन; मलाई भान्सा गर्नुभोभनी सोध्ने कर्तव्य पनि कसैको बाँकी रहने छैन । त्यसैले गिजाबाट टुथपेस्टको गाँज निकाल्दै म सम्झन थाल्छु- यस महिनामा उधारो नलिएको परिचित पसले कुनै बाँकी छ कि ? या सापट नलिएको कुनै साथी वा सज्जन बाँकी छन् कि ? तर तुरुन्तै सम्झनामा कोही पनि चढ्दैन । बरु यसपालि बत्ती धेरै चढेछ- छोरो भन्छ । पानी धेरै चढेछ- छोरी भन्छे । म पनि निकै चढेको छु भनी टेलिफोनले घण्टी ठोक्छ- टिन्न ।

आधुनिक जीवनमा घण्टीको पनि घनिष्ठता छ भन्ने कुरा मान्नै पर्‍यो । प्रसूतिगृहमा आमाको गर्भबाट जब म खुत्रुक्क ओर्लेथेँ, नर्स दिदीले टिङ्‌रिङ्ग घण्टी बजाई मेरो धरावतरणको सलामी दिइथिन् रे ! त्यसैले स्कूल-कलेजदेखि घर-अफिससम्म नाना थरीको घण्टीले मलाई छाडेको छैन । बेला न कुबेलाको यो घण्टीदेखि यति झोक चल्छ कि उठाउँदै नउठाइदिऊँ ? तर कुनै भाग्यविधाताको घण्टी रहेछ भने के गर्ने ? त्यसैले उठाउँछु- भान्जीमैयाँको मधुर स्वर गुञ्जिन्छ- उहाँ हजुरको मामालाई नभेटी नहुने छ रे । दिउँसो भेट हुँदैन भनेर हामी अहिले तीँखाने गरी आउँदै छौँ, माइजूलाई भनिदिनुहोला- उहाँ हजुर तेलमा बनाको कुरा ज्यूनार हुन्न !आफैँलाई सुन्न धौधौ परेको सन्देश माइजूचाहिँलाई कसरी सुनाइदिने ? त्यसैले म रिसिभरको साथै कुरो बटारेर उतैतिर फर्काइदिन्छु- होइन नानी, त्यस्तो जरुरी भए उहाँ हजुरलाई किन दु:ख ! मेरो अहिले त्यतैपट्टि आउने काम छ, माइजू पनि भेट्नु छ भन्थी, भान्सा त्यहीँ ठीक गर्नू । तिम्रो मामालाई तेलमा बनाएको मात्रै होइन, मट्टीतेलमा बनाएको पनि मिठो लाग्छ भनी बज्यैलाई सुनाइदिनू ।भान्जीमैयाँ खिलखिलाउँदै टेलिफोन राख्छिन् । एक जोर पाहुना हटाउनुको साथै भान्जीकहाँ एक छाक भान्सा चुलेनिम्तो माग्ने नकच्चर्र्‍याइँमा आफू सफल भएकोमा मलाई टीएडीएसहितको विदेशभ्रमणको निम्तो माग्न सफल भएजस्तै खुसी लाग्यो ।

यही खुसीमा आरामकुर्सीमा बसी म मग्नसँग कोसेली फुक्न थालेँ । एकाएक एक जना बाजे चोकमा ठिङ्ग उभिएर ङ्याउरे स्वरमा पाती पढ्न थाले- आब्रह्मन् ब्राह्मणो-ब्रह्मवर्च....त्यसको मूल अर्थ न उनले बुझेका होलान्, न मैले बुझेको छु, तर भावर्थ भने भात खानु हो । यो हाम्रा केटाकेटी र आइमाई सबैले बुझेका छन् । त्यसैले उनीहरुले चुपचाप लागी एक मुठी भात बनाउने गेडा झोलीमा थपिदिइहाले । बाजे हिँड्न नपाउँदै अर्को अवतार चोकमा अवतरित भयो, त्यो अवतार थियो- दही दाजुको । दुई हातमा बडेबडे घैँटा झुन्डयाएको, बीचमा घ्याम्पिएको गाँठाले सकिनसकी हिँड्नुपर्ने दहीदाजु टोलभरिको परिचित विदूषकजस्तो थियो । झ्यालमुनि घैँटा बिसाउँदै मलाई नमस्कार गरेर उसले सविनय निवेदन गर्‍यो– “तीन बिस ११ बर्ष खाइहालियो, अब दुई-चार वर्ष खानलाई पर्नु हम्मे पर्‍यो हजुर !सुनेको नसुन्यै गरी उसको खानुको समस्या र आफ्नो खानुको समस्या जोर्न थाल्छु, केटाकेटीहरु उसलाई ठग बूढो, हन्डे बूढो, घ्याम्पे बुढोभन्दै गिज्याउँछन् । दहीमा च्याउ मिलाएर लयाउँछभन्छन् । तर ऊ यस्ता टिकाटिप्पणीको कुनै वास्ता गर्दैन; न गिज्याइको वास्ता गर्छ, न खिज्याइको । खानको लागि यस्ता उपेक्षा र अपमानहरु पहिल्यै पचाउनुपर्छ भन्ने उसको जीवनदर्शन ७० बर्षदेखिको अनुभवमा खारिएको दर्शन हो । सामान्य रुपमा दही चाहिँदैन बूढाबाभन्यो भने एकपल्ट राम्रै भाषण गर्छ- आज एकादशी, भोलि आइतबार, यो दही अघिपछिको जस्तो होइन, खावा दूधको दही, खावा दूधको । धेरैजसो ऊ जित्छ हामी हार्छौँ र दही किन्छौँ । थोरैजसो ऊ हार्छ- रन्कन्छ, फन्कन्छ फेरि अर्को दिन टुपलुक्क आइपुग्छ ।

दहीदाजुको प्रस्थानपछि दूधमैयाँ आइपुग्छे- एउटा फूलो परेको आँखो मतिर चढाएर निकै लजाएझैँ भित्र पस्छे र पहिल्यै आफ्नो महत्व गाउँछे- आमालाई जाऊँ न भनेको, तँ गए मालिकहरु खुसाउँछन्, धेरै दूध किन्छन् भन्छिन् । हुन पनि क्या बज्यै, उ: त्यो टोलमा बस्ने देशीसाहेब छ नि, आमाले लगेको बेला आधा माना दूध लिन्छ, म गएको बेला दुई माना लिन्छ र दूध ल्याएको ज्याला भनेर एक सुका पैसा बढ्ता पनि दिन्छ ।दूधवाल्नी बूढीको भान्सा गर्ने बेलामा तरुनी छोरीको कति मद्दत रहेछ भन्ने बुझ्न मलाई गाह्रो पर्दैन । तर चुरोट बेस्कन तान्नेसिवाय अरु केही बोल्दिनँ । दूधमैयाँ झ्यालमुनिबाट फेरि एक नजर मास्तिर चढाई लचकदार पैतला चाल्छे- म हेरिरहन्छु, हेरिरहन्छु । हेर्दाहेर्दै धूवाँको प्रवाहसित सम्झना-प्रवाह पाँज्जिन्छ- एउटा सेतो मुसो खोरमा पालेर ज्योतिष हेर्न टुँडिखेलको छेउमा बसेको पिलन्धरे युवक, बियरका थोत्रा टिन दुई-चारोटा बटुली सुकेनासले खाएको छोरालाई झुम्रे स्तन चुसाउँदै बेच्न बसेकी पसल्नी, बागेश्वरीको जलप्रसाद बाँड्न दिनहुँ अफिसअफिसमा चहार्ने बहिरा बागेश्वर पण्डित, दिनभरि होटेलको कप पखालेर साँझ चिउरा, तरकारी चोरी स्वास्नी-छोराछोरीलाई चारा लैजाने होटेलब्वाय, छेपारा बटुलेर उसिनी हरेक रोगको औषधि भन्दै दिनभर चिच्याउँदै हिड्ने मुसहर सबै उही भान्सा भगवतीका उपासक हुन् । यस्ता प्रत्येक उपासकलाई दिनहुँ भेटेर कसले सोधिदिने- भान्सा भो हजुर ?” बरु नेपथ्यबाट आफैँ फेरि सोधिन्छु- भान्सा भो बाबू ?” मुन्टो बटार्दा जुम्लुङ्ग उनै ठाहिँला बाजेका छोरा उपस्थित देखिन्छन् । म नमस्कार र प्रश्न दुवै फर्काउँदै सोध्छु- तपाईंको भान्सा भयो नि ?” पढेगुनेका नभए पनि ५२ हन्डर ५३ ठक्कर खाएका ठाहिँला बाजेका छोरा भन्छन्- भान्सा गर्न सकेको भए म बिहानबिहान बाबूलाई झिँजोलेर कतै बहिदार खाली भो कि भनी किन धाइरहन्थेँ बाबू !अनि उनि भान्सा गर्नुको लामो कथा हाल्दै आँखाभरि आँसु पारेर भन्छन्- हाम्रो मूल व्यथा नै भान्सा गर्नुको व्यथा हो बाबू ! त्यसैले जो पायो उहीसँग भान्सा गरेको-नगरेको नसोध्नु नै राम्रो बाबू, नसोध्नु नै राम्रो !त्यहाँदेखि मलाई पनि त्यस्तै लाग्छ-
नसोध्नु नै राम्रो !

No comments:

Post a Comment

Please Leave a comment to promote this site as well as Nepali Literature