Monday, February 7, 2011

‘उडाउनु’ सित एकछिन उड्दा

एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनै सम्बन्ध छ, न भूउपग्रह र दूधमा समानता । तर क्रियाचाहिँ दुइटैले एउटै गरे- उडाइदिए । भूउपग्रह उडाउन कैयौँको साधन र साधना लाग्यो, तर बिरालालाई दूध उडाउन न साधनको नाममा एउटा चम्चा चाहियो, न साधनाको नाममा केही चालचुल ।

तर यी दुवै कामलाई उडाउनु नै भनिन्छ भने उडाउने क्रियालाई महत्त्वपूर्णनभन्ने कि मामुली ? यो पनि एउटा प्रश्न हो । तर कस्तो केटाकेटी प्रश्न ? यो त एउटा भाषाको चमत्कार मात्र हो । हाम्रो देशमा एउटा मान्छेका दसोटा सिद्धन्त भएझैँ हाम्रो भाषामा एक शब्दको अनेक अर्थ हुन्छन । उदाहरणको लागि आफ्नो लभ परेको दिन आफ्नो नजिकको नातादारको जुठो परेको हुन्छ । जीवनको असङ्गति भनेको यही न हो ? त्यसैले बिरालाको दूधउडान र त्यस देशको भूउपग्रहको उडानमा पक्का पर्नुसट्टा अर्को कुनै महत्त्वपूर्ण समस्यामा विचार गर्नु राम्रो । मन अर्को विचारणीय समस्या खोज्न थाल्छ, तर मगजको तन्तु हल्लाउँदै एउटाले प्वाक्क सुनाउन आउँछ- रामबहादुरले सीतादेवीलाई उडाएछ नि बुझिस् ?” रामबहादुरले सीतादेवीलाई क्यारेभलमा राखेर ब्याङ्कतिर उडाएको हो कि पछयौरामा तानेर भण्डारकोठातिर कुदाएको हो- त्यो दुबिधामा अलमलिँदै नअलमलिई म साथीसित सोध्छु- उडाएछ ? कसरी थाहा पाइस् ?” ऊ थप्छ-अहिले त्यहीँ रेस्टुराँमा सबै ठिटाहरु रामबहादुरलाई उडाउदैँ थिए ।अब भएन के ? एकै दिनमा सुन्नुपरेको यी चार उडानका समाचारहरुबाट बुझेको सानो क्षितिजमा कौतूहलको चारचोसे विमान फन्का मारीमारी उड्न थाल्छ-
अन्तराक्षमा जान संलग्न देशले भूउपग्रह उडायो ।
बिरालाले दूध उडायो ।
रामबहादुरले सीतादेवीलाई उडायो ।
ठिटाहरुले रामबहादुरलाई उडाए ।

उडाउनुको यसै फन्कोमा कान्छाले बेलुन उडाएको, ठाइँलाले चङ्गा उडाएको, काइँलाले गाँजा उडाएको, साहिँलाले परेवा उडाएको, माहिलाले तहबिल उडाएको, जेठाले सर्वस्व उडाएको सम्झना पनि फन्कामाथि फन्का थप्तै उड्न थाल्छन् । अनि म फेरि छक्क पर्छु- कति विचित्र क्रिया छ यो उडाउनु !

तर छक्क पर्ने कुरा पो के रह्यो र ? प्रकृतिले पक्षपात गरेर मान्छेलाई पखेटा दिएन । त्यसै झोकमा होला, उसले उड्नु र उडाउनुका अनेकौँ क्रियाहरु सिक्न थाल्यो । उड्नुमा भन्दा उडाउनुमा आफ्नो पुरुषार्थ व्यक्त हुने देख्न थाल्यो । अझ भनूँ भने प्रकृतिले त उडाउनलाई प्वाँख र पखेटा नभई नहुने गराएथ्यो, तर मान्छेले मान्छेलाई बिनापखेटा हावामा पनि उडाइदिन लाग्यो, हाहामा पनि उडाइदिन लाग्यो । त्यसैले एपोलो र सोयुजका उडान सफल भएकै ताका आफ्नो घ्याम्पोउडान असफल भएर मध्यटुँडिखेलमा अग्निकाण्ड परे तापनि नेपालीहरुसमेत उडाउने काममा पछि परेका छैनन् । भनूँ भने उडाउने क्रियामा नेपालीहरु अरु दुई पाइला अगाडि नै छन् भन्ने मेरो धारणा छ; किनभने प्रकृतिले प्वाँख र पखेटा खोजिरहोस्, विज्ञान अक्सिजन र नाइट्रोजन जोडिरहोस्, हामी कुरैकुरामा कैयौँ कुरा भुर्र उडाइदिन्छौँ । हाम्रो भाषा स्वयं कति वैज्ञनिक छ भने उडाउने क्रियामै उसले सयौँ प्वाँख र पखेटाहरु जोडिराखेको छ, त्यसैले कसैले चाहेमा यहाँ पच्चीस पैसामा जुँगादाह्री उडाउन सक्छ, सोह्रठाडीमा घरबारी उडाउन सक्छ; अलिकति भेटीघाटीले एउटा गजबको ठेकदारी उडाउन सक्छ; एक-दुई जनाले धर्म छाडे एक-दुई हजारको धर्मभकारी उडाउन सकिन्छ । उडाउनुलाई यति व्यापक र बहुउद्यश्यीय गराई आफ्ना कयौँ क्रियाप्रतिक्रियासित सम्बद्ध राख्न नेपालीहरुले कम ‌श्रम र समय खर्चेका छैनन् । त्यसैले एउटा कागतको घ्याम्पो उडाउन असफल हुँदैमा हामीले आफूलाई उडाउन नजान्ने भनी आत्मग्लानि लिनु पर्दैन । हावामा उडाउने प्रतियोगिता अमेरिका र रुसले गर्दै रहून्, हाहामा उडाउने विज्ञानको लागि विश्वले नेपालबाट धेरै कुरा सिक्न बाँकी नै छ ।

उडाउने काम गर्न वैज्ञानिकहरुलाई विमान र वेधशाला नभई हुँदैन, तर हाम्रा ऋषिमुनि मन्त्रैमन्त्रले पहाड उडाइदिन्थे रे, हाम्रा गुभाजुहरु तन्त्रमन्त्रले हाड उडाइदिन्थे रे । त्यसैले मान्छे जाबालाई उडाउन विमान र वेधशालाको के खाँचो ? आजको युगमा मन्त्रतन्त्रको खोजीनिती झन् कल्ले गरिरहोस् ? हो, कसैलाई मेचैसमेत उडाइदिनु छ भने यसो चुक्लीसुक्ली लगाइदिए भइहाल्यो, होइन; सामान्यलाई सामान्यै किसिमबाट उडाउनचाहिँ त दुई चुच्चाको एक जमघट भए जत्ति भने पनि पुग्छ । त्यसैले धारामा होस् वा चौतारामा होस्, सडकको पेटीमा होस् कि रेस्टुराँको कुर्सीमा होस्, हामी चुच्चैचुच्चा मिलेर एउटा विचित्र वेधशाला बनाउन सक्छौँ र धमाधम मान्छे उडाउन सक्छौँ ।

उडाइने मान्छे भोजपुरमा होस् कि भक्तपुरमा होस्, भोज खान लागेको होस् कि भोकै मर्न आटेको होस्, उसको उपस्थितिबिना नै उसलाई भर्र उडाइदिन सक्नु हाम्रो उडानको अद्विआतीय विशेषता हो । अर्को विशेषता के छ भने जुन बेला तपाईं अर्कालाई उडाइरहनुभएको हुन्छ, त्यसै बेला तपाईंलाई अर्काले उडाइरहेको हुन्छ । त्यसैले यो उडानमा जति आनन्द आउँछ, उडाउनेले नै पाउँछ, उड्ने बिचराले कहाँकहाँ कसकसले कसरीकसरी आफूलाई उडाउँदै छन् भन्ने कुराको सुइँको पाउँदैन । उडाउने कलामा अशिक्षित र गाउँलेहरुभन्दा सभ्य र शिक्षितहरुले बढी सफलता पाउनु स्वाभाविकै हो, किनभने आजको शिक्षा र सभ्यता नै गराइदिनुमा भन्दा उडाइदिनुमा बढी लहसिएको छ । त्यसैले तपाईं मलाई उडाउनुहुन्छ, म तपाईंलाई उडाउँछु । हामी दुवै जनाको भेट भए फलानालाई उडाउँछौँ । उड्नु र उडाउनुको यस अभियानमा घरको तरकारी समस्यादेखि अफिसको सरकारी फाइलसम्म न केहीको पीर, न कसैको परवाह ! अरुलाई उडाउँदा पाइने एउटा गुलियो रसमा रसना रसाउँदै एकैछिन हल्ल हाँस्न पाइन्छ; आफ्नो अहंमा एक थप्की लगाउँदै बाँच्नुको मजा चाख्न पाइन्छ ।

यो त भयो अनुपस्थितिमा उडाउने कुरा । कोही मान्छे अघिल्तिरै उपस्थित छ र उसलाई उडाउनु छ भने थाल्नोस् तपाईं उसको तारिफ गर्न । उसको टोपीको टुप्पो सगरमाथाको जस्तो छ कि गौरीशङ्करको जस्तो छ ? त्यसको बयानबाट सुरु गरी अन्तयमा भनिदिनुहोस्- चाहेको भए तपाईं उहिल्यै केके भइसक्नुहुन्थ्यो !यो दिव्य वचन सुन्नासाथ ऊ आफ्नो भित्रबाहिर हेर्दै नहेरी अहंका पखेटा फटफटाउन थाल्छ र एकैछिनमा भारहीन भएर स्वयं उड्न थाल्छ- प्रधानमन्त्रीसम्म पाएको भए सोच्नुहुन्थ्यो, मन्त्री जाबो को भइरहोस् !तपाईं थपिदिनुहोस्-यहाँजस्तो योग्य व्यक्तिले मन्त्री मात्र हुनु त नसुहाउने नै कुरा हो !अनि ऊ झन् अकासिन्छ र आफूबाहेक सबैलाई लम्फूलम्फू देख्न थाल्छ । तर आफूलाई हाइलम्फू ठानेर उडाउँदछन्, बिचाराले पत्तै पाउँदैन । उडाउने योचाहिँ कलामा उड्नेले आत्मतृप्तिको महँगो मेवा पाउँछ, उडाउनेले मनोरञ्जनको सितनस्वरुप सके दुई घुट्को जाँडै पाउला नसके एक तुर्को चिया कतै नजा !

त्यसैले, मर्सिडिज कारले कसैका आँखासम्म धूलो उडओस् वा शिक्षित बेकारले एक थाल झिँगा उडाओस्- उडाउनु भनेको वास्तवमा उडाउनु नै हो । यो सबै हेरिल्याएको खण्डमा बीसौँ शताब्दी उडाउने युग हो । रकेट उडाउनेदेखि पाकेट उडाउने कलासम्ममा आज जति प्रगति भएको छ, त्यति पहिले कहिल्यै थिएन । हिरोशिमा उडाउनेदेखि लिएर साँधसीमा उडाउनेसम्मका सयौँ उडान पृथ्वीमा भएका छन् भने चन्द्रदेखि मङ्गलसम्मका कैयौँ उडान अन्तरिक्षमा भएका छन् । तर मलाई सोध्नुहुन्छ भनेचाहिँ, आधुनिक उडानको इतिहास हनुमान्देखि सुरु हुन्छ । हनुमानले द्रोणाचल उडाए भने उनका वंशज वानरहरुले पशुपतिको पूजासामा उडाउनुमा के आश्चर्य; वानरले देवतालेको पूजासामा उडाउँछ भने वानरबाट विकसित नरले पृथिवी नै उडाउनुमा के दोष ?

1 comment:

  1. Euta simple sabda "udaunu" lai atti byangyatmak tarikale prasphutan garieko es nibandha le hamro manav sabhyata lai udhaune prayas gareko xa😂😁

    ReplyDelete

Please Leave a comment to promote this site as well as Nepali Literature