Friday, April 15, 2011

नेता नम्बर एक सय एक

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।


म थिएँ त्यस बेला बेनामी अड्डाको बहीदार । अड्डा बेनामी भन्दैमा आफू पनि बेनामी थिएँ भन्ने नसम्झनुहोला नि । खासखुसबहादुर खतिवडा भनेपछि सिंहदरबारदेखि लिएर कमिलाकुटीसम्म मलाई नचिन्ने कोही थिएन । बाहिर छउन्जेल घुम्ने, भित्र छउन्जेल उभ्ने भएकोले कोही मलाई बहीदारको सट्टा फुइँदार पनि भन्ने गर्थे । तर के गर्नु र ! प्रमोसन पाउने बेला भयो कि आइपुग्थ्यो अर्कै जगरसेठ, कहिले नेतामार्का, कहिले नातामार्का ।

मलाई एक दिन झोकै चल्यो, दर्जाको पछाडि एउटा टरनझुन्डिएको जागिर के खानु ? किनभने जमानै टरको छ हेर्नोस् न- मिनिस्टर, डाइरेक्टर, इन्सपेक्टर, मास्टर, डाक्टर, एडिटर, अडिटर इत्यादि । पुलिस इन्सपेक्टर नपाए बस कन्डक्टर नै सही, एडिटर नपाए कम्पोजिटर नै सही, एउटा टरत झुन्ड्याउनै पर्छ बा ! यो जाबो बहीदार सधैँको दिक्दार । यस्तै कुरा सोच्तै मकैमार्का बेसनको लड्डु खाएर चुइँचुइँ कराउने साइकिलरुपी छुचुन्द्रोमा गणपति लम्केझैँ ढल्किँदैढल्किँदै हल्लिरहेको थिएँ ! नयाँसडकको मूल ढोकैमा प्रसिद्ध नेता कछुवाकान्त कार्की भेट भए । साइकिलबाट ओर्ह्लंदै नमस्कारपूर्वक मैले सोधेँ- नेताजी कता ?”

एउटा पार्टी छोडिहालियो । अर्को पार्टी खोलिसकिएको छैन । त्यसैले हालसाललाई नेताजी न यता न उता !नेताजीले नाक मुसार्दै भने । अनि खल्तीबाट क्राइभेन चुरोट निकाल्दै गम्भीर मुद्रामा मलाई सम्झाए- तपाईंजस्ता नौजवानले पनि बहीदारमा भुन्डिने हो ? आउनुहोस् मेरो पार्टीमा काम गर्न । सेक्रेटरी गराइदिन्छु । अहिलेलाई चिया-चुरोट चलाइदिउँला, चन्दा धेरै उठेपछि चप-चुस्कीको चमेना पनि गर्नुहोला ।सेक्रेटरी, हँ ! टरभन्दा पनि ठूलो टरी !!! उनको कुरा सुन्नेबित्तिकै के खोज्छन् काना ? आँखो भनेझैँ मलाई लाग्यो र झोला र झन्डा काँधमा हालेर हिँडे त्यहीँदेखि चन्दा उठाउने धन्दामा । जोजो जेजे चाहन्छन् त्यहीत्यही मिलाइदिन आशा देखाएपछि चन्दा झर्न कति बेर ! हाम्रो घोषणापत्रमै लेखेको थियो-

व्यापारीलाई दर, सुकुमवासीलाई घर, जागिर खानेलाई पोस्ट, खाजा खानेलाई टोस्ट, जोगीलाई जंक्सन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास, खेल्नेलाई तास, गाइनेलाई भ्वाइलिन, आइमाईलाई नाइलिन, पुलिसलाई डन्डा, नेतालाई झन्डा, पन्डालाई भेटी, गुन्डालाई केटी, इत्यादि ।

तर के गर्नु- नेता थिए नम्बर वन, जति चन्दा उठाए पनि आफैँ च्वाम् । आखिरमा गएर मलाई जङ्बहादुरको पालाको एउटा जडाउरी कोटमा टारिदिए । चौटा खान गएको सम्धि झोलमा डुबेर मर्‍यो भनेझैँ म हिस्स बूढी हरिया दाँत भएँ । तर उद्दोग गर्दै रहेपछि एकातिर नभए अर्कोतिर गल्फ भन्ने सम्झेर तुरुन्तै ज्वाइन गरेँ अर्को पार्टी ।

पार्टीको नाम त के हो कुन्नि, अङ्ग्रेजीमा थियो, तर नेताको नाम भने रेशमवीर पाँडे हो ! नेतालाई भेटेकै दिन श्रीमती नेतीले मसित सुटुक्क भनिन्- तपाईं पहाडको मान्छे, एक टिन शुद्ध घिउ ल्याइदिनुहोस् न, म उहाँ हजुरलाई भनेर अफिससेक्रेटरी गराइदिउँला ।के गरुँ-

नेतानां नेतीनां चवै वचनं नैव लंघयेत्,
संसदीये प्रजातन्त्रे पार्टीनेतैव ईश्वर: ।

यही ठानी गएँ उही दिन काम्लोकुम्लो बोकेर देउपुरतिर । तै, घिउ बोकेर आउँदै थिएँ, भाग्यमानीको भूतै कमारा भनेझैँ अर्को नेताले समाएर भने- त्यो ठगसित किन लाग्छौ, बरु एक टिन घिउको अडर मै दिउँला तिमीलाई, मेरो पार्टीको सङ्गठन गर ।कुरा मलाई ठीकै लाग्यो र थालेँ उनैको पार्टीको लागि मान्छे फकाउन । माम पाएपछि काम गर्न को गाह्रो मान्छ ? कसैलाई कुराले फुलाएर, कसैलाई सुराले झुलाएर, कसैलाई झन्डाले लोभ्याएर, कसैलाई डन्डाले सोझ्याएर, कसैलाई खेती जोरिदिउँला भनेर, कसैलाई केटी खोजिदिउँला भनेर, कसैलाई नुन पाउला भनेर, कसैलाई सुन लाउला भनेर इत्यादि गर्ने कृत्य गरी मेरा मनोमान खुसी राजीसाथ पार्टीको सदस्यबुकमा सही गराएँ । यसको फलस्वरुप कैयौँ पटक जुलुस, भाषण, हडताल, पिकेटिङ गरियो । जहाँसम्म हाम्रो अखिल नेपाल दु:खमोचन पार्टीको सरकार हुँदैन, त्यहाँसम्म सङ्घर्ष जारी नै रहन्छभन्दै सभापति श्री बिकनबिलास बनियाँले नेपालचौरमा कुर्ले । शहीदको शपथ खाँदै उनले यो पनि भने कि हाम्रो पार्टीको सरकार बनेको भोलिपल्ट नेपालको दु:खजति कालमोचनमा लगी म बगाइदिन्छु ।

नभन्दै नेताले फुर्का हालेको दिन उनकी सालीले हीराका लुर्का पाइन्, मैलेसम्म एक तुर्का चिया पाएको थिएँ, मैले बनाएका सदस्यले एक कुड्का ल्वाङ पनि पाएनन् वा अरु जनताले भने भोलिपल्टदेखि कतै नेताका सालाको, कतै सालाको पनि सालाको मुड्का पाउन थाले । यो देखी मलाई साह्रै जङ चल्यो र म पुगेँ अर्कै पार्टीमा ।

तर त्यो रहेछ गजब पार्टी । जानासाथ मेरो इन्टरभ्यु पो लिन थाल्यो ! प्रश्नोत्तर यिनै थिए-

हूलदङ्गामा तँ कति पटक पक्रिएको छस् ?”
छैन ।
हतियार चलाउन केके जान्दछस् ?”
जान्दिनँ ।
चोरी, रहजनी इत्यादिमा बात लागेको छ कि छैन ?”
छैन ।
परेको बेलामा चर्पीको प्वालबाट भाग्न सक्छस् कि सक्तैनस् ?”
सक्तिनँ इत्यादि । अनि नेताले एउटा ठेलो पल्टाएर भन्यो-
चोरिचकारि नगरी चतुर्‍याइँ हुन्न
दङ्गाफसाद नगरे इजतै रहन्न ।
सोझा र सज्जन कबै नलिनू दलैमा
पार्टी चलाउनु सधैँ छल औ बलैमा ।

यो सुनेर म अक्क न बक्क परी फर्के वरैतिर । तर पार्टीको नशा अफिमको भन्दा पनि कडा हुने रहेछ । बाबुआमा गाली गर्थे- पार्टीमा कुद्नुभन्दा पाटीमा एउटा नाङ्ले पसल थाप्नु नि बाबू ? तर के भन्या यस्तो ? नेता हुने मान्छेले नाङलाँ तिलौरी बेचेर बस्नु ? तिलौरिको सट्टा बरु स्वास्नीको तिलरी बेचुँला नि भनेजस्तो लाग्यो । अनि मैले धमाधम एकपछि अर्को, अर्कोपछि अर्को गर्दै भएजति पार्टी चहारेँ । दुई-चार वटाको नाम पनि सुनिहाल्नोस्-
     १)   राष्ट्रिय छलछाम परिषद् ।
     २)  अराष्ट्रिय पेडाजुल्फी दल ।
     ३)  अन्तर्राष्ट्रिय खुर्पा पार्टी ।
     ४)  अराष्ट्रिय जम्बुक दल ।
     ५)  सुराष्ट्रिय कन्याखोज मण्डल ।
     ६)  कुराष्ट्रिय कुकर्म काउन्सिल इत्यादि ।

श्राद्ध गर्दा बिकारलाई घोप्ट्याएको दुनो पनि पछि गएर पुरेतले सोभ्याउन लाउँछन्, तर मेरो घोप्टिएको दुनो कतै पनि सोझिएन । एक सुयवटा नेताको सङ्गत गरेँ, जुत्ता बोकेँ, आखिरमा आएर न यता न उता । तयसैले झोकै शान्ति मैले पनि मावलीको मद्दतले एउटा पार्टी खोलेको छु, जसको नाम हो- अखिल नेपाल भस्याङभुसुङ दल। जसले जे भने पनि आखिर म पनि एउटा नेता भैहालेँ । अन्त्यमा, मेरो पार्टीमा काम गर्न चाहने कुनै कङ्गाली छ भने बङ्गाली भाषामा एउटा दरखास्त लेखी बतासे हुलाकमा खसालिदिनुहोला अथवा जग खन्ने मुसा, घुरी खोस्रने बिरालाको कानमा झुन्डयाइदिए पनि हामीकहाँ आइपुग्छ । सो पनि नसके एउटा लाटोकोसेराको कानमा सुटुक्क भनी पठाए पनि हुन्छ । नोट गरी राख्नोस्- नेता नम्बर - एक  सय एक ।

2 comments:

  1. Gambling, casino games - DrmCD
    Best gambling 양산 출장안마 sites in Nigeria 2021. Read DrmCD reviews 논산 출장안마 and get free casino 원주 출장안마 bonuses! Play Slots, 양주 출장마사지 Video Poker, Bingo 경산 출장마사지 and more!

    ReplyDelete

Please Leave a comment to promote this site as well as Nepali Literature