Monday, August 22, 2011

लाहुरेको यात्रासंस्मरण

एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल  पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि !

Thursday, April 28, 2011

विकृति प्रतियोगिताको आयोजक समिति

नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपाली सुन्दरसुन्दरीहरु दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ भित्रैदेखि प्रफुल्ल भएका थिए । तर, सो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझैँ एकै पटक खङ्‌र्‍याङखुङ्‌रुङ भइहाले । स्वास्नीलाई नेपाल-सुन्दरी बनाउन पाए आफू पनि नेपाल-सुन्दर भएर हङकङदेखि हलिउडसम्म घुमौँला भन्ने कति श्रीमान्‌हरुको योजना त्यसै गरी भत्कियो, जसरी त्यति काम गरिदिन पाए बङ्गला बनाउन पाइन्थ्यो भनी कसिएका कर्मचारीको सपना एक्कासि खोसुवा पुर्जी पाउँदा भत्किन्छ ।

Friday, April 15, 2011

नेता नम्बर एक सय एक

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।

Tuesday, March 22, 2011

चुरोट : केही झिलिमिली संस्मरण

एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?

Thursday, March 3, 2011

भान्सा भो हजुर ?

भान्सा भो हजुर ?”

आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरु पुलिसको आवाज सुनेका जुवाडेहरुझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । पिलिक्क आँखा उघार्दा मिलिक्क उही बूढो साहू महिना सुनाउन आएका बाजेझैँ बिपना सुनाउन भित्र पस्छ ।